काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।आइतबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका लामिछाने निराश भएर फर्केका हुन् । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको भनाइ छ ।
“सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर छौँ । तपाईंको मन्त्रालयको संख्या घटाउन खोजेको होइन, जतिवटा मन्त्रालय तोकिएको छ, त्यो दिइन्छ,” प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बाह्रखरीसित भन्यो, “तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री)सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।”