रुपन्देही । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं गएका छन् । विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला हुन लागेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा यस्ता दलहरूसँग वार्ता गर्न समिति नै गठन गरेको थियो ।
विप्लव नेतृत्वको पार्टीको केन्द्रीय भेला चलिरहेको समयमा महरा कपिलवस्तुको शिवगढीस्थित भेलामै पुगेर छलफल गरेका थिए । तर विप्लव निकट एक नेताले प्रधानमन्त्री प्रचण्डसँग विप्लवले यसअघिको सरकारसँग गरेका तीन बुँदे सहमति कार्यान्वयनको विषय नै प्राथमिकतामा रहेको बताउँछन् ।
फागुन १ गते नजिक आइरहेकाले विप्लव निकट नेकपा माओवादीले जनयुद्ध दिवसमा केही सन्देश दिने गरी अगाडि जान नेताहरूले शीर्ष नेतालाई सुझाएका छन् । विप्लवले काठमाडौंमा माओवादी केन्द्रका अन्य नेताहरू तथा अन्य दलका नेताहरूसँग पनि भेट्ने योजना बनाएका छन् ।