काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक बैठकअघि सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे थिए । ‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । प्रचण्डलाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए ।
सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ । तर उनको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रचण्डले अडान लिएका छन् । पछिल्लो समय पार्टीका नेताहरुले पनि रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आएका छन् । लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।