काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। माघ १२ गतेदेखि जारी बैठक शनिबार सकिएको हो ।बैठकले दुई महिनापछि केन्द्रीय समिति बैठक बस्ने र सम्पूर्ण निर्णय त्यहीँबाट गर्ने निर्णय लिएको छ ।
उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी सम्पूर्ण रुपमा फिल्ड– जनताकहाँ जाने र त्यहाँबाट प्रतिवेदन ल्याएर केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताएका छन् । ’हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ । सरकार र संसद्मा भएर जान नभ्याउनेहरु जानुहुन्न । अन्य साथीहरु फिल्डमा गएर केन्द्रीय समितिमा रिपोर्ट प्रस्तुत गर्नुहुन्छ’, उनले भने ।
त्यस्तै, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेपछि उनले दिएका निर्देशन, वक्तव्य तथा संसद्मा बोलेका भाषणहरुलाई बुकलेट बनाएर तल्ला कमिटीमा पठाउने निर्णय पनि गरिएको उनले बताए। ’त्यो पनि पार्टीको एउटा सम्पत्ति हो भन्ने बुझेर तल पठाउने निर्णय गरेका छौँ’, महराले भने ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पुस ११ गते सपथ लिएर कार्यभार सुरु गरेका थिए । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुराकानी भइरहेको र समाधान हुने बताए । सो पार्टीले सरकारमा बस्ने वा छाड्नेबारे निर्णय लिनुअघि थपेको दुई दिनको समयसीमा शनिबार सकिँदैछ ।