भरतपुर । चितवनका केरा किसानले कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई केरा खेतीमा देखिएका समस्याबारे गुनासो राखेका छन् । रत्ननगरमा मन्त्रीसँगको छलफलमा किसानहरुले राज्यले सहयोग गरेमा केरामा नेपाललाईनै आत्मनिर्भर बनाउन सकिने बताएका छन् । केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्ष तथा केरा जोन चितवनका संयोजक विष्णुहरी पन्तले उत्पादित केराले बजार पाउने सुनिश्चित भए देशभरीलाई पुग्ने केरा उत्पादन गर्न तयार रहेको बताएका छन् । “नेपालमा उत्पादन बढी भएका बेला भारतबाट आयात रोक्ने नीति ल्याउनुप¥यो”, उनले भने, “१ वर्षभित्रै नेपाललाई केरामा आत्मनिर्भर बनाउन तयार छौँ ।”
चितवनमा २ हजार ४६ हेक्टरमा केरा खेती हुदै आएको छ । करिब ५ सय ५० जना किसानले व्यवसायीक रुपमा केरा खेती गरेका छन् । चितवनमा वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुने गर्छ । ८० प्रतिशत केरा बाहिरि जिल्ला खपत हुने गर्छ । “चितवनमा बैशाख देखि साउनसम्म बढी केरा उत्पादन हुनेगर्छ”, उनले भने, “त्यो बेला धमाधम भारतीय केरा बजारमा आउँछ, भन्सारमा कडाई गरेर स्वदेशी केराको खपत बढाउने नीति चाहियो ।”
चितवनमा पछिल्लो ५ वर्ष यता केरा जोन कार्यक्रम समेत लागु भएको छ । जोन अन्र्तगत पूर्वीचितवनका ४ नगरपालिका र भरतपुरको २९ नम्बर वडा पर्छन् । जोन कार्यक्रम लागु भएपछि चितवनमा जी नाइन केराको खेती सुरु भएको छ । ८० प्रतिशत किसानले मालभोग जातको केरा खेती गरेका छन् । संघका जिल्ला अध्यक्ष माधवकुमार घिमिरेले उन्नत जातका बेर्ना, मलको व्यवस्था र बजार सुनिश्चित भए किसान उत्साहित भएर केरा उत्पादनमा लाग्ने बताए ।
“हामी आत्मनिर्भर बनाउन तयार छौँ, राज्यले सहयोग गर्नुप¥यो”, उनले भने, “कम्तिमा ४ महिनामात्रै भन्सारमा कडाई गरिदिए पुग्छ ।” प्रति बोट केरालाई युरिया–पोटास १ केजी, प्रांगारिक मल १० केजी मल चाहिन्छ । “भारतीय केराले बजार पाउने, स्वदेशी केराले बजारै नपाउने, लागत मूल्य पनि नपाउने अवस्था रोक्नुप¥यो”, उनले भने, “केरा किसानका समस्या समाधान हुन् ।” मन्त्री साहले किसानका समस्याहरु समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताइन् ।