बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् । शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उनले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाए ।
‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ’ उनले भने । एमालेकै खल्तीबाट बहुमतका नाममा राष्ट्रपति बनाए फेरि पनि संविधान र व्यवस्था दुर्घटनामा जान सक्ने उनको भनाई छ ।
महामन्त्री थापाले भने, “हिजो एमालेले दिएको राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी निर्वाह नगरेको र संविधानले नदिएको काम गरेको हामीले देखेका छौँ ।” उनले भर्खरै आएको व्यवस्थाविरुद्ध विषवमन गर्ने र प्रश्न उठाएर जनतामा भ्रम फैलाउने काम भइरहेको पनि बताए ।