भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मन्त्री ज्वालाकुमारी साहलाई तरकारी आयात बन्द गर्न आग्रह गरेकी छन् । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजको अधिवेशनमा बोल्दै मेयर रेनुले भनिन्, “आयात रोकिदिनुस्, यही उत्पादन भएका कुरा यही खपत हुन्छन् ।”
शुक्रबार चितवनका तरकारी किसानले लागत मूल्य समेत नपाएको भन्दै ६ ट्याक्टर तरकारी नारायणगढस्थित पुलचोकमा फालेर प्रर्दशन गरेका थिए । “किसानले तरकारी बिक्रिनै भएर सडकमै फालेको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ”, उनले भनिन्, “उत्पादति भएका वस्तुको बजारीकरण गर्न सकिरहेका छैनौँ, आयात रोकिए सहज हुने थियो ।”
कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री साह प्रमुख अतिथिका रुपमा सहभागि बनेकी थिइन् । उनले स्वदेशी उत्पादनले बजार नपाउने अवस्था अन्त्य गर्न मन्त्रीको ध्यानाकर्षण गराएकी छन् । उनले नीतिगत निर्णयनै गरेर स्वदेशमा उत्पादन बढी भएका बेला आयात रोक्नुपर्ने बताइन् । कृषिलाई केन्द्रदेखि स्थान्ीय सरकारले प्राथमिकतामा राखेपनि आधुनिकिकरण, आत्मनिर्भर, व्यवसायीकरण गर्न भएका प्रयास सन्तोषजनक हुन सकेको दुखेसो गरिन् ।
उनले महानगरले कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेखनीय कामहरु गरेपनि बजारीकरणमा केही समस्या कायमै रहेको बताइन् । महानगरले ४ वर्ष पहिलेदेखिनै दूधमा अनुदान दिएर दुग्ध किसानलाई प्रोत्साहित गरेको बताइन् । महानगरले प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिदै आएको छ । महानगरले १ वर्षमा वार्षिक १ करोड लिटर दूध सहकारी मार्फत बिक्रि गर्ने किसानलाई अनुदान दिदै आएको छ । दूध अनुदानमा मात्रै ६ करोड खर्च गरेको उनले बताइन् । कृषि तथा पशुपालनको क्षेत्रमा १६ करोड बराबरको बजेट बनाइएको बताइन् । उनले किसान लक्षित कार्यक्रम ल्याउन मन्त्रीलाई आग्रह गरिन् ।