काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवाासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।’
‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु । भोलि पनि लड्नेछु । कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन’ उनले भने । ‘जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ” प्रधानमन्त्रीको भनाई थियो ।
‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ’ प्रधानमन्त्रीले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन । तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ । त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ ।’
प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रमा चुनौती आएको समेत बताए । उनले भने, ‘अर्थतन्त्रमा चुनौतीहरु छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नु नै छ । राष्ट्रिय एकताको आधार पनि यही हो । उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिन्छ, जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ । तसर्थ, उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ ।’