काठमाडौं । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनलाई लिएर छलफल भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ । त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन र सोमबार निर्वाचन हुँदैछ ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा भने कांग्रेसले यसअघि नै निर्णय गरिसकेको छ ।राष्ट्रिय सभाको तत्कालीन उपाध्यक्ष शशीकला दाहालको २०७८ फागुन २१ मा पदावधि सकिएपछि सो पद रिक्त रहँदै आएको छ ।
अहिले ५८ सदस्यीय रहेको राष्ट्रिय सभामा एमालेको १६ सिट, माओवादी केन्द्रको १५ सिट, कांग्रेसको १० सिट, एकीकृत समाजवादीको ८ सिट, जसपाको ३ सिट, लोसपाको १ सिट, राजमोको १ सिट र स्वतन्त्र एक सिट छन्।त्यस्तै, राष्ट्रपतिबाट मनोनित ३ सिट छन् । सत्ता साझेदार दुई दल एमाले र माओवादी केन्द्र एकातिर रहेको अवस्थामा स्वतः बहुमत पुग्नेछ ।