भरतपुर । माडीमा रिउ करिडोर निर्माणका लागि पहल सुरु भएको छ । बागमती प्रदेशका सांसद तथा माडी नगरपालिकाका पूर्व मेयर ठाकुरप्रसाद ढकालको अगुवाईमा रिउ करिडोरबारे सर्वपक्षीय छलफल भएको छ । सांसद ढकालले माडीमा संकलन भएको सुझावका आधारमा रिउ करिडोर आयोजनलाई प्रदेशबाट बजेट सुनिश्चत गरिने बताउनुभयो ।
“माडीलाई पर्यटनको हब र सुरक्षित आवास सहित समृद्ध माडी बनाउन रिउ करिडोर एक विकासको मेरुदण्ड हो”, उनले भने, “बागमती प्रदेश सरकारबाट बहुवर्षिय योजनाका रुपमा समावेश गर्न लाग्नेछौँ ।” उनका अनुसार माडीको बगईदेखि पाण्डवनगरसम्मको रिउ किनारमा ड्याम सहितको सुविधासम्पन्न सडक निर्माण हुनेछ । रिउको किनारमा प्रती र ऐलानी क्षेत्रलाई सिमाना कायम गर्दै रियु नदीतर्फ ५ मिटर स्लोपिङ, ६ मिटर लञ्चिङ जाली, रिट्रनिङ वाल बनाइनेछ ।
सडकको चौडाई १५ मिटरको हुनेछ । रिउ कोरिडोर अन्र्तगत २५ किमि दुरीमा सडक निर्माण गर्नुपर्नेछ । सांसद ढकालले चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्ती प्रवेश गर्ने वन्यजन्तुलाई नियन्त्रण गर्न, रिउको बाढीले जमिन कटान हुनबाट जोगाउन रिउ करिडोर आवश्यक रहेको बताए । “डिपिआर तयार गर्दै बहुवर्षिय आयोजनाका रुपमा प्रदेशबाट बजेट सुनिश्चत गर्न पहल गर्नेछु”, उनले भने, “रिउ कोरिडोरलाई राजनीतिक विषय नबनाई सबैको साथ मिलोस् ।”
उनले रिउ करिडोर आयोजना कार्यान्वयन भएमा बगर बनेका जमिन उपयोगमा आउने र होटल, रिसोर्टमा उपयोग हुने, अर्गानिक खेती गर्न नदी उकास जमिन प्रयोग बन्ने स्थिति आउने बताए । माडी नगरपालिका मेयर ताराकुमारी काजि महतोले रिउको नक्सांकन गरेर रिउ कोरिडोर कार्यान्वयन गर्नुपर्ने बताइन् ।
“पर्यटकीय मार्ग बन्नेछ , दोहोरो गाडी गुड्नेछन्, साइक्लिङ र पैदल मार्ग पनि बन्ने अपेक्षा छ”, उनले भनिन्, “प्रदेश सरकार सहित भौतिक पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालयको पनि साथ चाहिन्छ, माडी विकासका लागि यो साझा योजना हो ।” रिउ करिडोर बनेमा त्यसले माडी चक्रपथको ४० प्रतिशत सडक समेटिने विश्वास गरिन् । एमाले माडी नगरअध्यक्ष नारायण अधिकारीले रिउ करिडोरका केही ठाउँमा आर्कषक पार्कहरु बनाउनुपर्ने सुझाव दिए ।
उनले पाण्डवनगरसम्म सडक जोडिएमा त्यहाँबाट वाल्मीकि आश्रमसम्म पैदल मार्ग बनाए पर्यटक आर्कषित गर्न सकिने बताए । कांग्रेस माडी नगर सभापति कोलमनाथ भुषालले रिउ करिडोर आयोजना कार्यान्वयनका लागि सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
माओवादी केन्द्रका नगरअध्यक्ष प्रभु महतोले माडीको सर्वपक्षीय टिमनै बनाएर संघ र प्रदेशमा दबाब दिनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका नेता ऋषिराम काफ्लेले जग्गा विवाद समाधान समिति गठन गरेर रिउ करिडोर आयोजनालाई सफल बनाउन लाग्नुपर्ने बताए । एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य नारदमणी पौडेलले सरकारको ध्यानाकर्षण गराउँदै आयोजना कार्यान्वयनका लागि सबै नेतृत्व एकमत हुनुपर्ने बताए ।