काठमाडौं । नेपाली कांग्रेसले सत्ताबाहिर रहेका दलहरुसँग छलफल गर्ने भएको छ । राष्ट्रपति निर्वाचन, राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनबारे सत्तारुढ दललाई दबाब दिने रणनीति बनाउन कांग्रेसले बैठक आव्हान गरेको छ । भोलि शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले उपाध्यक्ष र राष्ट्रपति पदको आसन्न निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरुसँग छलफल गर्न लागेको हो । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ ।
यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सातदलीय गठबन्धन बनेपछि विपक्षी कित्तामा पुगेका दलहरु यतिबेला एउटै विपषी गठबन्धन बनाउने दाउमा लागेका छन् ।
पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सभामुख–उपसभामुख मध्ये कुनै एक पद लिने रणनीति बनाएपनि असफल भएपछि विपक्षी दलहरु यतिबेला राष्ट्रपति पद जसरी पनि लिने पक्षमा छन् । सरकार गठनहुदा बनेको गठबन्धननै बदलेर नयाँ गठबन्धन बनाउन दबाब सृजना गरिरहेपनि एमाले–माओवादीको सहकार्यका कारण परिस्थिति सजिलो बनिसकेको छैन । राष्ट्रपति पद लिन मोर्चाबन्दी गरेर सत्तारुढ दलभित्रबाट पनि मत पाउने आशा बुन्दै कांग्रेस अगाडी बढेको छ ।