विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले नेपाल भ्रमणमा आउँदैछन् ।
प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि शनिबार दोस्रो पटक चार दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा उनले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिनेछन् । उनले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नेछन् ।
साथै भ्रमणका क्रममा उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संगठन आइएफआरसीले सन् २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रममा उनी सहभागी हुने जनाइएको छ ।
विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए । सो जिम्मेवारी सम्हालेपछि उनले विसं २०७८ माघ १८ मा पहिलो नेपाल भ्रमण गरेका थिए । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उनलाई सो पदमा निर्वाचित गरेको थियो ।
बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी अझै पनि कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ ।
विशेषगरी कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिकमन्दीका बाबजुद पनि महासचिव चापागाईंले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पु¥याउन निर्वाह गरेको नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाएको जनाइएको छ ।