काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी नहुने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै उनले एमाले सम्मेलित सरकारमा कांग्रेस सहभागी नहुने जवाफ दिएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उपसभापति खड्काले भनेका छन्, ‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा सञ्चारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन । काँग्रेस सहभागी हुँदैन ।’
उनले कांग्रेस सरकारमा नजाने कुरामा ढुक्क रहन आग्रह गर्दै सबैखाले भ्रमबाट मुक्त हुन जरुरी रहेको समेत उल्लेख गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोप्रति एमाले संशकित बन्दै आएको छ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने टिप्पणी गरेका थिए ।