नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ ।जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटी बुझाएर गत पुस २९ गते छुटेका थिए । त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार सुनुवाइको पेसी तोकिएको हो ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग गरेको छ । नेपालको कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाही गर्नुपर्ने व्यवस्था छ ।लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश यस्तो, कानुन र सर्वोच्च अदालतको नजिरको समेत विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पेस गरेका प्रमाण, प्रचलित कानून र अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेसम्बन्धी आफ्नै नजिरहरूका आधारमा सर्वोच्चले लामिछानेलाई थुनामै पठाउने सम्भावना बाँकी नै छ ।
सर्वोच्चमा तोकिएको पेसीमा सुनुवाइको समेत प्रतिक्षा नगरी नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानको मंगलबार पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गरेलगत्तै लामिछानेलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।लामिछानेको शुक्रबार फिटनेश परिक्षण हुँदैछ । खेल मिलेमतो र सट्टेबाजीको विषयमा गम्भीर अनुसन्धानमा तानिनुपर्ने क्यानको नेतृत्व फौजदारी अभियोग लागेका खेलाडीको प्रतिबन्ध फुकुवा गर्दै राष्ट्रिय टिममा सहभागी गराउन जोडतोडले लाग्नु शंकास्पद देखिन्छ ।बलात्कारजस्तो जघन्य अपराधको टुंगो नलाग्दै लामिछानेलाई राष्ट्रिय टिममा फर्काइँदा त्यसले अन्तर्राष्ट्रियस्तरमा समेत प्रश्न उठाउने जोखिम छ ।