भरतपुर । सन्त समाजका केन्द्रिय अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन गरेका छन् । महायज्ञको प्रमुख संरक्षकसमेत रहेका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले महायज्ञको हवन कुण्डलगायतको अवलोकन गरी आर्शिवाद दिएका छन् ।
प्रमुख संरक्षकले छिट्टै महायज्ञमा कथावाचन गर्ने कार्यक्रम समेत रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । प्रमुख संरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वती ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीका उत्तराधिकारी पनि हुन् ।
बिहीबार अन्य अतिथिहरुले समेत महायज्ञको अवलोकन गरेको महायज्ञ संयोजक भारद्धाले जानकारी दिए । कोटिहोम महायज्ञ सफल पार्नका लागि कथावाचक ईश्वरकृष्णजी महाराजले बिहीबार यज्ञको महत्व, दान, पुण्यलगायतका विषयमा कथाप्रवचन गरे । चितवनका आध्यात्मिक पुरुष अखण्ड हरिकिर्तनबाबा उमानाथ कण्डेल, कालिका पिद्यापिठका प्राचार्य डा रामचन्द्र कण्डेललगायतले पनि यज्ञको अवलोकन गरेका छन् ।
महायज्ञमा अहिलेसम्म चरु खरिद गर्नुपरेको छैन । चरु संकलनका लागि गाउँ–गाउँमा विभिन्न समूहलाई परिचालन गरिएको छ । सवा करोड दिप प्रज्वलनका लागि आफ्नो समूहको नाम टिपाउन आमा समूहहरुलाई भारद्धाजले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने छ । त्यसका लागि महायज्ञ स्थलमा रहेको सचिवालयमा सम्पर्क गर्न सकिने उनले जानकारी दिए ।
माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।