काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको छ । आज पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले २ दिन पर्खिने निर्णय गरेको छ ।
सरकारमा रहने कि बाहिरिने भन्नेबारे २ दिने पर्खिने भएको हो । प्रवक्ता मुकुल ढकालले रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरेर तत्काल सरकारबाट बाहिरिने हतार नगर्न आग्रह गरेपछि तत्काल सरकारबाट नबाहिरिने भएको हो ।
गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आइरहेको छ । पार्टी सभापति रवि लामिछानेको सांसद पदनै खारेज भएपछि उपप्रधान तथा गृहमन्त्री पदबाट समेत लामिछाने ३२ दिनमै बाहिरिएका थिए । अमेरिकाको नागरिकता त्यागेर नेपालको नागरिकता पुनःप्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले नागरिकता अवैध रहेको ठहर गरेपछि सांसद पदनै गुमेको थियो ।
सांसद पद गुमेपनि गैरसांसदका रुपमा लामिछानेलाई पुनः गृहमन्त्रालयमा फर्काउनुपर्ने अडानमा रास्वपा उभिएको छ । सर्वोच्च अदालतबाट पूर्णपाठ नआएसम्म र उनको राहदानीसम्बन्धी विवाद किनारा नलागेसम्म गृहमन्त्री नबनाउने पक्ष्मा प्रधानमन्त्री प्रचण्ड देखिएका छन् । २ दिनभित्र गृहमन्त्रालय नपाए सरकारनै छाड्ने चेतावनी दिदै रास्वपाले फेरी कुरेको छ ।