काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।पार्टी पेरिसडाँडामा स्थायी कमिटी बैठकका लागि पुगेका प्रचण्डले आन्तरिक छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’
गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।
उपाध्यक्ष भन्छन् : रास्वपाले धैर्य गर्नुपर्छ
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने बताएका छन् ।पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भने, मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन नसकिने बताएका छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ र उसको बिहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ । माओवादी स्थायी कमिटी बैठक भने भोलिलाई सारिएको छ ।