काठमाडौं । वैकल्पिक राजनितिको मुलधारमा केन्द्रित भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी गरिएको छ ।यही माघ २७ र २८ काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन गर्ने तयारी भईरहेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
महाधिवेशनमा सहभागिताका लागि जिल्ला–जिल्लाबाट सदस्यता नवीकरण गर्ने कार्य भईरहेको उनले बताए ।हालसम्म करिब ४० जिल्लामा सदस्यता नवीकरण कार्य सम्पन्न भएको छ । सदस्यता नवीकरण गराएका सबैलाई महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ ।
पाँच वर्षअघि स्थापित पार्टीको हालसम्म कुनै महाधिवेशन गरिएको छैन ।संवैधानिक बाध्यताका कारण अहिले महाधिवेशन गर्नैपर्ने अवस्था छ । यो पार्टीका कतिपय नेता–कार्यकर्ता नयाँ खुलेका र पुराना दलहरूमा समेत प्रवेश गरेका छन् ।सोही कारण अहिले कति सदस्य एकीकृत छन् भन्ने रेकर्ड राख्ने कार्यमा पार्टी जुटेको हो ।
अध्यक्षमा बास्कोटा, परियार र पाण्डेको चर्चा
महाधिवेशनको मिति नजिकिएसँगै पार्टीबाट अध्यक्ष बन्ने व्यक्तिका विषयमा चर्चा पनि चुलिएको छ । सहमति भए सहमतिमा र नभए चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्ने तयारी गरिएको छ ।अध्यक्ष पदमा वर्तमान अध्यक्ष समीक्षा बास्कोटा, मिलन पाण्डे र प्रकाशचन्द्र परियारको चर्चा छ ।
पाण्डे रवीन्द्र मिश्रसँग दोस्रोपटक पार्टी एकता गर्दा सहसंयोजक बनेका थिए । पार्टी स्थापनाकालदेखि नै विभिन्न भूमिकामा रहेर काम गरिरहेका परियार पनि अध्यक्षका आकांक्षी हुन् । उनी अहिले पार्टी प्रवक्ता छन् ।