भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन सभापतिले पुस २७ गतेनै राजीनामा दिएको बताएको छ । पार्टी हित विपरितका काममा लागेपछि सोधिएको स्पष्टीकरणसँगै राजीनामा दिएको जनाइएको छ । बुधबारमात्रै चितवन सभापति धर्मेन्द्र सापकोटाले केही व्यक्तिको मनोमानी चलेका कारण पार्टी छाडेको अभिव्यक्ति दिएका थिए । केन्द्रीय पार्टीले उनको राजीनामा प्रकरणबारे स्पष्टीकरण पार्न विज्ञप्तिनै जारी गरेको छ ।
पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला जिम्मेवारी निर्वाह नगरि पार्टीको हित विपरित अनावश्यक अन्तरवार्ता दिदै हिडेको दाबी गरिएको छ । चितवन–३ मा मत परिणाम नकरात्मक आउनुमा सापकोटालाई दोष देखाइएको छ । रास्वपाले चितवनका ३ वटा निर्वाचन क्षेत्रमध्ये ३ मा हारेको थियो भने १ र २ मा जितेको थियो । मंसिर ४ को चुनावमा समेत उनी सक्रिय नभएको प्रष्टीकरण विज्ञप्तिमा उल्लेख छ ।
सापकोटा चुनावी अभियानमा संलग्न नभएको, स्थानीय मुद्धा तथा संगठन बलियो बनाउन ध्यान नदिएको, पार्टी कार्यालयमै नगएका आरोपहरु लगाउँदै पार्टीले स्पष्टीकरण सोधेको थियो । पार्टीले पुस १७ गते स्पष्टीकरण सोध्दै आवश्यक छानविन, अनुसनधान तथा अन्तिम निक्र्यौल नभएसम्म पदीय हैसियतले कुनैपनि गतिविधि, कार्यमा संलग्न नहुने निर्देशन दिएको जनाइएको छ ।
सापकोटाले २० गते पार्टी कार्यालयमा स्पष्टिकरण बुझाएका थिए । पार्टीले निर्णय गर्नुपहिल्यै उनले पुस २७ गते राजीनामा दिएको जनाइएको छ । उनको राजनीमा केन्द्रीय समितिको माघ ८ गतेको बैठकले सदर गरेको जनाइएको छ । सापकोटा चितवन–३ बाट स्वतन्त्र उम्मेदवार बन्ने तयारी गरिरहेकै बेला एकाएक जिल्ला सभापति भएका थिए । रास्वपाले टिकट नदिएपछि उनी रास्वपाको चुनावी अभियानमा समेत देखिएका थिएनन् ।