काठमाडौँ । आजकै दिन अर्थात माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेको दिनलाई कालो दिनका रुपमा लिने गरिन्छ । २०६१ माघ १९ गते शासनसत्ता नियन्त्रणमा लिएर आफ्नै अध्यक्षतामा मन्त्रीपरिषद् विस्तार गरेका थिए। प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने उनी सक्रिय शासनमा लागेका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका थिए । दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले देशमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए । संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्दै नजरबन्दमा राखेका थिए ।
ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्ध ७ राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । २०६२ चैत २४ गते सुरू भई २०६३ बैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनको बलमा राजा ज्ञानेन्द्र संसद पुनस्र्थापना गर्न बाध्य भएका थिए । राजा आफैंले पुनस्र्थापना गरेको संसदले राजतन्त्रका सम्पूर्ण अधिकार खोस्दै २०६४ मा संविधानसभाको पहिलो बैठकले देशबाट राजतन्त्र अन्त्यको घोषणा गरिएको थियो । ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए ।