भरतपुर । सौराहामा नमुना पर्यटकीय मार्गको शिलान्यास भएको छ । बुधबार रत्ननगरका मेयर प्रल्हाद सापकोटाले पर्यटकीय मार्गको शिलन्यास गरेका हुन् । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजनाको सौराहा ड्याकदेखि मगरटोलसम्मको सडक निर्माण सुरु भएको हो ।
साइलक लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइको सडक निर्माण हुनेछ । करिब १ हजार ५ सय मिटर लम्बाइको सडक बन्नेछ । १४ करोड २४ लाख रुपैयाँको लागत लाग्नेछ । मेयर सापकोटाले विकासको काममा कसैले पनि अवरोध गर्न नहुने बताए । सौराहाको सौन्दर्य बढाउन र समुदायको दीर्घकालीन हितका लागि सडक निर्माण सुरु भएको बताए । उनले सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको बताए ।
सडक निर्माणको जिम्मा लोहनी–लोहनी एन्ड सन्स–हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ । आयोजनाको निर्माण कार्य २०८१ जेठ २८ मा पुरा हुनेछन् । बूढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने आकर्षक पुल समेत बन्ने भएको छ । ३ करोड ९५ लाख रुपैयाँको लागतमा सिग्नेचर पुलको निर्माणका लागि सर्भे भैसकेको छ ।