काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३÷२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।
तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१÷२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।
भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ । आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ ।
भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ । नेपाललाई यसरी दिने भनिएको सहयोग भने बजेटरी माध्यमबाट आउने गर्दैन । भारतीय दूतावासले बर्सेनि स्वास्थ्यचौकीलाई दिने एम्बुलेन्स तथा विद्यालय भवन बनाउनमा सो रकम खर्च गर्ने गरिएको छ ।