भरतपुर । चलचित्र ‘फूलबारी’ को प्रचारप्रसार गर्न कलाकारहरुको टोली चितवन आइपुगेको छ । कलाकारहरु विपीन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा, निर्मार्ता मनिष ढकाल, कार्यकारी निर्माता मनिराम पोखरेल सहितको टोली चितवन आएको हो । फागुन ५ गतेदेखि प्रर्दशमा आउने चलचित्र फूलबारीमा परिवारभित्रको बेमेल र उतारचढावलाई समेटिएको जनाइएको छ ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक विपिन कार्कीले फूलबारी चलचित्र घर–घरको कथा भएको बताए । “तपाईकै घरभित्रको कथा हो फूलबारी, आँफ्नै कथा महसुस गर्नुहुनेछ”, उनले भने, “धेरै आशा गरेको चलचित्र हो, सबैले मेरो चलचित्र भन्नुहुनेछ ।” उनी यो चलचित्रमा ‘बा’ को भूमिका देखिनेछन् । उनका अनुसार जयनारायण सरको रिटार्ड मास्टरको भुमिकामा देखिने छन् ।
युवापुस्तामाझ ‘भष्मे डन’ का रुपमा चर्चित कार्कीले जेष्ठ नागरिकको चरित्रमा देखिएका छन् । “च्यालेन्जिङ क्यारेक्टर थियो, मलाई प्रस्ताव आएपछि म तयार भएँ”, उनले भने, “केही नयाँपन पाउनुहुनेछ, मन जित्नेछ ।” नायिका प्रियंका कार्कीले परिवारभित्रका तितामिठा घटनाहरु समेटेर फूलबारी बनेको बताइन् । “कतै खुशी, कतै दुःखका कुराहरु छन्, माया, प्रेम, सम्बन्धका कथाहरु छन्”, उनले भनिन्, “हेर्दा आफ्नै कथा जस्तो लाग्नेछ ।”
कार्यकारी निर्माता मनिराम पोखरेलले फूलबारी चलचित्र पारिवार चलचित्र भएको बताए । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा विपीन कार्की र अरुणा कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा विपीन र अरुणसँगे प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल र अनुपम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । फूलबारीको प्रचारप्रसारमा निस्किएको चलचित्र युनिट नेपालका मुख्य शहरमा प्रमोशनका लागि सहभागि हुनेछ ।