काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता रद्द गरेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।
गत ९–२७ पुसमा काठमाडौंमा आयोजना भएको नेपाल टी–२० लिग तीव्र विवादित बनेको थियो । प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए भने प्रतियोगिताका दौरान खेलाडीको पारिश्रमिक र स्पट फिक्सिङको विवाद उब्जियो । फिक्सिङका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले बताएको छ, जसमध्ये दुई नेपाली खेलाडी पक्राउ परेका छन् ।
नेपाल टी–२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ । क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो ।