काठमाडौं । चितवन कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनमा फेरि रवि उम्मेदवार बनेर आए हराउने दाबी गरेको छ । कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले चितवन–२ मा कांग्रेसले जित्ने दाबी गरे । “हामी एकअर्कामा दोषारोपण गरिरहेका छौँ”, उनले भने, “६ महिनाअघि पार्टी गठन गरेका रविले चुनाव जितेर आउनुभयो।
तर मन्त्री बनेको ३२ दिनमा उहाँले के गर्नु भयो ? हविगत देखियो। फेरी तेस्रो पटक चुनाव गर्न नपरोस् ।” उनले मतदाता यसपाली सचेत भएकाले कांग्रेसको जित सहज भएको जीकिर गरे । “मंसिरको चुनावमा गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो, कार्यकर्तामा हार्मोनी पनि हुन सकेन”, उनले भने, “ त्यो बेला नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परे, उपनिर्वाचनमा भ्रम तोडिनेछ ।”
सभापति शेरबहादुर देउवालाई भेटेर चितवन–२ को उप निर्वाचनका बारेमा २ दिन अघि छलफल गरेको बताए । उनले आँफु उम्मेदवारको आकांक्षी रहेपनि दाबी नगरेको बताए । पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन पार्टी सभापतिलाई सुझाव दिएको बताए । मंसिर ४ को निर्वाचमा कांग्रेसबाट उमेश श्रेष्ठ उम्मेदवार रहेका थिए । तर, उनी ३४ हजार बढी मतान्तरले रवि लामिछानेसँग पराजित भएका थिए । लामिछानेको सांसद पद खारेज भएपनि चितवन–२ मा केही महिनामै उपनिर्वाचन हुदैछ ।