काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयबारे तत्काल निर्णय नहुने बताएका छन् । आजको पदाधिकारी बैठकको निर्णय सुनाउँदै उनले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने बताएका हुन ।
बैठकले माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुलाई दिएको छ । कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको जनाइएको छ ।
माघ १२ गते सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको थियो । अध्यक्ष र उपाध्यक्षहरुले बुधबार १२ बजे बस्ने पदाधिकारी बैठकमा ठोस प्रस्ताव लिएर आउने र त्यसपछि १ बजे बस्ने स्थायी समितिबाट त्यसलाई अनुमोदन गरिने बताइएको छ ।