बाँके– श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका–२ कि गंगा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा बद्री चापागाईंले बताए।
‘घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ’, डा चापागाईंले भने, ‘उहाँको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ।’ कोहलपुर नगरपालिका–२ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए। उपचारका क्रममा छोराको मृत्यु भइसकेको छ।
कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन्।श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए।