भरतपुर । चितवनको जलदेवी सामुदायिक वनका ५ जना पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको हो । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजक सहितका ५ जना विरुद्ध पक्राउ पूर्जी जारि भएको हो ।
देवघाटधाम नजिकैको आँपटारीमा रहेको यो सामुदायिक वनमा अवैध रुपमा काठ लुकाइएको सूचना पाएपछि मंसिर २३ गते तत्कालिन सांसद रवि लामिछाने वन कार्यालयका कर्मचारी सहित पुगेका थिए । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले अनुसन्धान गर्न काठ समेत बरामद गरिएको बताए ।
शुक्रबार ४८ क्यूफिट सालको चिरान काठ बरामद गरिएको बताए । जलदेवी सामुदायिक वनको जिप लाइन टिकट काउण्टरमा लुकाएर राखिएको अवस्थामा काठ भेटिएको थियो । स्वीकृती विना काठ काटिएको ठहर गरिएको छ । वनका अध्यक्ष देवकोटाले साउन २८ बसेको बैठकले ढलेका काठ संकलन गरेर चिरान गर्ने निर्णय गरेको भन्दै अवैध काम नभएको विज्ञप्ती निकालेका थिए ।