काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।आजको बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ ।निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए ।उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।
नयाँ संविधानले भने यी दुवै पदको निर्वाचनका लागि मतदातालाई विस्तार गरिदिएको छ। संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य छन्। त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य छन्। यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन्।