भरतपुर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले चितवन–२ मा हुने उपनिर्वाचनमा कांग्रेस सशक्त उभिने बताएका छन् । नागरिकता विवादमा रवि लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन हुने तयारी छ । लामिछाने चितवन–२ बाट ३४ हजार बढी मतान्तर सहित मंसिर ४ को निर्वाचनमा विजयी भएका थिए ।
भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “उपनिर्वाचनमाा कांग्रेसका छरिएका, विचलित भएकाहरु एकीकृत हुन जरुरी छ । नयाँ अभियान चलाउनुपर्छ ।” उनले कांग्रेसको शक्ति सञ्चय भएको ठाउँ चितवन भएकाले चितवन–२ मा हुने उपनिर्वाचन जित्ने गरी कांग्रेस अगाडी बढ्ने जीकिर गरे । उनले पुराना कमजोरीहरु सुधारेर नयाँ परिस्थिति निर्माण हुने दाबी गरे ।
नेता केसीले राष्ट्रपति पदमा कांग्रेसको दाबी कायमै रहेको बताए । “प्रधानमन्त्री एकातिर, सभामुख एकातिर हुदा राष्ट्रपति कांग्रेसलाई दिदा संविधानको उद्येश्य, लोकतान्त्रिक पद्धति, राष्ट्रिय हितको दृष्टिकोणले राजनीतिक सन्तुलन हुनसक्छ”, उनले भने, “राष्ट्रपति दाबी गर्दा दलहरुसँग सहयोग लिने प्रयास जारी छ ।” उनले अहिलेको सत्तागठबन्धन भत्काउने पक्षमा कांग्रेस नरहेको तर्क गरे ।
“गठबन्धन भत्काउने पक्षमा छैनौँ, अस्थिरताको पक्षमा हुदैनौँ”, उनले भने, “राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्छ ।” उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गरिनसकेको बताए । “राष्ट्रपति निर्वाचन छिटै हुनुपर्छ, संविधानले ५ वर्ष कार्याकाल हुन्छ भनेको छ, तर कानुनमा १ महिना अगाडी निर्वाचन हुनुपर्छ भनेको छ”, उनले भने, “निर्वाचन आयोगले सन्तुलित ढंगले व्याख्या वा कानुनमा परिवर्तन गर्ला ।”