भरतपुर । फराकिलो जित निकाल्दै चौधरी मोटर्स खैरहनी चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) सम्पन्न क्वाटरफाइनल खेलमा खैरहनीले कालिका २ वाईसिएललाई ५-० को फराकिलो अन्तरले पाखा लगायो । खैरहनीलाई फराकिलो जित दिलाउन सुनिल गोलेले ह्याटि्रक गरे । उनी नै खेलको म्यान अफ दि म्याच चुनिए ।
उनलाई नेकपा माओवादी केन्द्र कालिका नगर कमिटी अध्यक्ष सबिता लामा (निश्चल) ले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिन् । यससँगै सेमिफाइनल पुग्ने सबै चारै टोलीको टुङ्गो लागेको छ । सोमबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा सोमबार भरतपुर ८ गौरीगन्ज र कमरेड निमा भिड्नेछन् ।
१९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।
Advertisement