भरतपुर । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री केशवप्रसाद पोखरेलले किसान परिचयपत्र वितरणका लागि मापदण्ड बनाउनेबारे छलफल भैरहेको बताएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले वास्तविक किसानलाई परिचयपत्र वितरण गर्नका लागि मापदण्ड बनाउने काम छिटै सुरु हुने बताएका छन् । “किसानलाई के कस्ता सहुलियत दिने भन्नेबारे छलफलमा छौँ”, उनले भने, “छिटै मापदण्ड बनाउनेछौँ, किसानलाई वर्गिकरण गरेर परिचयपत्र दिनेछौँ ।”
उनले किसानका समस्याहरु समाधानका लागि सुझावहरु संकलन गरिरहेको बताए । “किसानको व्यवसाय प्रवद्र्धन, व्यवसायिक नीति निर्माणमा लाग्दैछौँ”, उनले भने, “किसानको पक्षमा निरन्तर काम गर्न मन्त्रालय प्रतिवद्ध छ ।” उनले किसानका समस्याहरु पहिचान गरेर प्राथमिकताका आधारमा समाधानका लागि चरणवद्ध कार्यक्रमहरु ल्याइने बताए । उनले दूधको नयाँ मूल्य कायम गर्न मन्त्रालयले केन्द्रीय सरकारसँग समन्वय गर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष किशोर बगाले, संघका केन्द्रीय उपाध्यक्ष भागिरथ तिमिल्सिना, केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले मन्त्री पोखरेलाई स्वागत तथा सम्मान गरेका थिए । जिल्ला अध्यक्ष बगालेले किसानका समस्याबारे जानकारी गराएका थिए ।