प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पताल निर्माण गरिने बताएका छन् । शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अघिल्लो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो । उक्त कार्यकालमा स्वास्थ्य वीमा लागू गरियो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो ।
प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।
प्रधानमन्त्री प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न उनले केन्द्रका पदाधिकारीलाई सुझाव दिए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ ।’