काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । उनका स्वकीय सचिव दीपक बोहरासहित रवि प्रशासन कार्यालय पुगेका छन् ।उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ । जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने÷नपर्नेबारे जिज्ञासा राखेको थियो ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नू भनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।’
सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो । अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरीले सुरक्षा बढाइएको छ ।