भरतपुर । निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा हालसम्म ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको पाइएको छ । सरकारी अध्ययनले ६३ करोड बराबरको खर्च भएको देखाएको छ । केन्द्र सरकार, भरतपुर महानगरले वित्तीय र प्राविधिक मूल्यांकन गरेपनि सो प्रतिवेदन अझै सार्वजनिक भएको छैन । प्रतिवेदन बुझाएको १ वर्ष पुग्दा समेत अझै सार्वजनिक भएको छैन ।
धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी भरतपुरमा रंगशाला निर्माण थालेको थियो । विभिन्न सप्लायर्सलाई १८ करोडभन्दा बढी रकम तिर्नुपर्ने अवस्था छ । तर, सो ऋण कसले कसरी तिर्ने भन्ने टुंगो लागेको छैन । २०७८ पुस २ गते निर्माणको स्वामित्व लिन अनुरोध गर्दै उधारो भुक्तानी गर्न भन्दै महानगरलाई पत्र पठाएको थियो । स्रोत जुटाउन नसकेपछि फाउण्डेसनले हात झिकेको थियो । फाउन्डेसन र भरतपुर महानगरबीच स्रोत अपुगहुदा आपसी सहमतिका आधारमा स्रोत जुटाइ निर्माण सम्पन्न गर्ने लिखित समझदारी बनेको थियो ।
फाउन्डेसनले असार मसान्तसम्मको अडिट रिपोर्ट, भौतिक संरचनाको रिपोर्ट तथा असारदेखि पुससम्मको अडिट रिपोर्ट महानगरलाई बुझाएको थियो । महानगरले स्वामित्व ग्रहण गर्न स्वतन्त्र लेखापरीक्षकको टिमबाट लेखापरीक्षण गराएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट पनि भौतिक संरचनाको अध्ययन गराइएको थियो । फाउण्डेसनले रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख हाराहारी रकम संकलन गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । यसमध्ये २ करोड १४ लाख फाउन्डेसनकै कोषमा रहेको मौज्दात रकम थियो । करिब १२ करोड रुपैयाँ सरकारी निकायहरूबाट प्राप्त भएको देखिन्छ ।
झण्डै ४० करोड रकम जुट्दा रंगशालामा ६३ करोड २२ लाख रुपैयाभन्दा बढीको काम भएको प्राविधिक प्रतिवेदनमा छ । १८ करोड ४३ लाख रुपैयाँभन्दा बढी रकमको काम फाउन्डेसनले उधारोमा गरेको देखिन्छ । वित्तीय र प्राविधिक प्रतिवेदन संघीय मामला मन्त्रालयहुदै खेलकुद मन्त्रालय पुगेको छ । सहयोग संकलनका लागि गरिएको महायज्ञमा बागमती सरकारले ३० करोड र महानगरले १६ करोड ७५ लाख दिने वाचा गरेका थिए ।
प्रदेशले ३ करोड र महानगरले पनि ८ करोड ५ लाख मात्रै दिएको थियो । महायज्ञमा ९ करोड ४१ लाखमात्रै संकलन भएको थियो । रंगशाला निर्माणाधिन परिसरमा झण्डै साढे २ करोड बराबरका निर्माण सामाग्रीहरु रहेको स्रोतले जनाएको छ । रंगशालाको हालसम्म ३५ प्रतिशतमात्रै काम भएको छ । हाँस्य कलाकार धुर्मुस र सुन्तलीले २०७४ चैतमा सामाजिक सञ्जालमार्फत रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । २०७५ माघ १६ मा रंगशाला निर्माण थालिएको थियो । तर, अहिले निर्माण कार्य ठप्प छ ।
भरतपुर महानगरका मेयर रेनु दाहालले रंगशालाको निर्माणाधिन कामलाई छिटै अगाडी बढाइने बताएकी छिन् । एक टेलिभिजन कार्यक्रममा उनले भनेकी थिइन्, ‘ऋण नहुन्थ्यो भने प्राथमिकतामा रंगशालामा योजना छ । संघीय सरकारले २२ करोड छुट्याएको छ । ऋण तिर्न कानुनी अड्चन छ । ’ उनले ऋण तिर्ने उपायकै बारेमा लागिरहेको भन्दै चिन्ता लागेको बताएकी थिइन् ।
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले रंगशालाबारे केही दिनमै आफ्ना धारणा सार्वजनिक गर्ने सोचमा छन् । उनी आँफुले राज्यका निकायलाई धेरै विश्वास गरेर धैर्य गरेको प्रतिक्रिया दिदै आएका छन् ।
रंगशालाको निर्माणको काम रोकिएपछि सामाजिक सञ्जालमा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ को एउटा भिडियो क्लिप निकै चर्चित बनेको छ । आर्थिक संकलन गर्न आयोजित महायज्ञमा उनले भनेकी थिइन्, ‘मैलेनै के घोषणा गर्छु भने ३ अर्बको रंगशाला बनिराख्दा ५ करोड पुगेन भने म एक्लैले ५ करोड हाल्नेवाला छु, याद गर्नुहोला, मलाई भन्न आउनुहोला, मेरो घर बेचेर रंगशाला बनाउने प्रतिज्ञा गर्छु । जति सकिन्छ, त्यति दिउँ, यो रंगशाला बनेको दिन कसैको छोराछोरी विदेशीन नपरोस् ।’