काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।
उनले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । संवैधानिक संस्थाको गरिमाको लागि पनि राष्ट्रपतिको कार्यकाल सकिनुअगावै चुनाव गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आफू माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा लागेको आयोगले जनाएको छ । तर, सत्ताधारी गठबन्धनबीचमा नै राष्ट्रपतिमा साझा उम्मेदवारको सहमति जुट्न नसकिरहेको बेला चुनावको मितिबारे शंसय पैदा भइरहेको छ ।