काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ संघीय सांसदविहिन बन्न पुगेको छ । मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएपनि सर्वोच्च अदालतले उनको साश.सद पद खारेज गरिदिएपछि यो निर्वाचन क्षेत्र संघयि सांसदविहिन बन्न पुगेको हो । लामिछानेले अमेरिकाको नागरिकता त्यागेपनि पुनः नेपाली नागरिकता नलिएको भन्दै संवैधानिक इजालासले सांसद पद खारेज गरिदिएको थियो ।
लामिछाने आज काठ्माण्डौ जिल्ला प्रशासनबाट पुनः नागरिकता लिनका लागि जादैछन् । उपनिर्वाचन कहिले हुन्छ भन्ने एकिन छैन । संसद सचिवालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई कुनै जानकारी गराएको छैन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएलगत्तै उपनिर्वाचनको तयारी सुरु हुने बताउँछन् ।
निर्वाचित सांसदको पद खारेज भएमा सो सांसदको कार्याकाल पुरा हुनुभन्दा ६ महिना बढी अवधि भएमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा अमेरिकी नागरिकता लिएका थिए । २०७५ सालमा उनले अमेरिकाको नागरिकता त्याग गरेपनि पुनः नेपाली नागरिकता लिएका थिएनन् ।