भरतपुर । राज्यले स्पष्ट पोल्ट्री नीति बनाई आत्म निर्भर व्यवसाय संरक्षण गर्नु पर्ने पोल्ट्री व्यवसायीहरुले माग गरेका छन् । नेपाल पोेल्ट्री सप्लार्यस कल्याणकारी संघको पर्यटकीय नगरी सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न १२ औ साधारण वार्षिक साधारणसभामा बोल्दै व्यसायीहरुले आत्मनिर्भर पोल्ट्री क्षेत्रको विकास र प्रर्वद्धनका विषयमा राज्य चुकेको दुखेसो पोखेका छन् ।
उनीहरुले प्रत्यक्ष रुपमा कृषकको स्वरोजगार र आर्थिक विकाससँग जोडिएको पोल्ट्री क्षेत्रका समस्याका विषयमा राज्य गम्भीर नबन्दा यो क्षेत्र अहिले गम्भीर संकट रहेको दुखेसो पोखेका हुन् ।कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले राज्यले विभिन्न बहानामा करका दायरा बढाउने, वित्तिय संस्थाको बढ्दो ब्याजदर, वित्तिय संस्थाहरुले गरेको चालु पुँजीमा भएको शंकोचन लगायतका कारण पोल्ट्री क्षेत्र अत्यन्त प्रभावित भएको गुनासो गरेका थिए ।
नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्री जन्य वस्तुहरुको मूल्य स्थिर नभएका कारण यस क्षेत्र अत्यन्त प्रभावित भएको बताए । ‘कुनै कुनै स्थानिय निकायहरुले स्थानीय स्वायत्त शासन ऐन र नियमावली विपरित चल्ला, कुखुरा एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा लिने गरेको स्थानीय निकासी कर पनि यस क्षेत्रको समस्याको रुपमा रहेको छ’, उनले भने, ‘यस्तो भए खबर गर्नुहोस् हामी समस्या हल गर्नेछौँ ।’ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेँलले पोल्ट्री क्षेत्रलाई पूर्ववत अवस्थामा सञ्चालन गर्न हाल रहेको व्याजदर र वित्तिय संकट हल गर्न राज्यसँग माग गरे ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष ज्ञानवहादुर बिसुरालले भारतीय सीमा नाकाहरुवाट गैर कानुनी रुपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, मासु, अण्डा आयात हुदा यस पेशालाई थप चुनौती रहेको विषयमा जोड दिए । नेपाल पोेल्ट्री सप्लार्यस कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाटले पोल्ट्रीजन्य वस्तुहरु ओसारपसार गर्ने सवारी साधानहरुलाई सफ्ट टप, जाली एगलको नाममा प्रहरी प्रशासनले पनि समय समयमा दुःख दिने गरेको बताए ।
अध्यक्ष रानाभाटले नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ किसान र ग्राहक बीचको पुल भएको भन्दै राज्यले लगाउने करको दायारा छुट गर्न माग गरे । संघका पूर्व अध्यक्ष कृष्णहरी लोहनीले राज्यले हेर्ने दृष्किोण परिर्वतन गनुपर्र्ने आवश्यक रहेको बताए । संस्थापक अध्यक्ष भुवनलाल जोशीले व्यवसायीहरु एकजुट नभएसम्म पोल्ट्री क्षेत्रको समस्या समस्याकै रुपमा रहने तर्क गरे । संघका अध्यक्ष मनोज रानाभाटको अध्यक्षतामा सम्पन्न साधारणसभामा संघका महासचिव हरिप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजन कडेँलले आर्थिक प्रतिवेदन र संघका उपाध्यक्ष सुदर्शन जोशीले भावी प्रस्तावहरु पेश गरेका थिए ।