भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले रवि लामिछानेको पक्षमा भरतपुरमा शान्तीपूर्ण प्रर्दशन गरेको छ । विशाल चोक नजिकैको वीरेन्द्र क्याम्पस चौरमा भेला भएका कार्यकर्ता तथा शुभेच्छुकहरुको समूहले वाइपास सडक, नारायणगढ, भरतपुर बजार क्षेत्रमा मोटरसाइकल ¥याली सहित प्रर्दशन गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक तथा नागरिक अधिकार गुमाएका लामिछाने मंसिर ४ मा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । चौविसकोठीमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुषालले उपनिर्वाचनमा फेरी रवि लामिछानेलाई भारी मतान्तरले विजयी गराइने दाबी गरे । “सर्वोच्चको फैसलाको सम्मान गर्छौँ, उपनिर्वाचन छिटै हुनुपर्छ”, उनले भने, “चितवन–२ मा रवि लामिछाने उम्मेदवार नभए चुनावनै बहिष्कार गर्छौँ, उहाँलाई भारी मतान्तरले चुनाव जिताउने छौँ ।”
मंसिर ४ को निर्वाचनमा लामिछाने चितवन–२ बाट ३४ हजार बढी मतान्तरले विजयी भएका थिए । तर, नागरिकता विवादमा परेपछि उनको संसद पद समेत गुमेको छ । सचिव भुषाले पार्टीको केन्द्रीय निर्णय अनुसार थप संघर्षका कार्यक्रमहरु गरिने बताए ।
कोणसभामा बोल्दै सामाजिक अभियान्ता अर्जुन भुषालले रवि विरुद्ध आएको फैसलाले मतदाता निराश भएपनि हिम्मत नहारेको बताए । “मतदाताले हिम्मत हारेका छैनन्, फेरि जिताएर पठाउन तयार छन्”, उनले भने, “उपनिर्वाचनको मिति छिटै घोषणा हुनुपर्छ ।”