नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९÷८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ । मङ्गलबार बस्ने १२औँ नगरसभामामा ऐनसहित अर्धवार्षिक समीक्षा र विविध कार्यसूची पेस गर्ने कार्यक्रम तयार भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।
नगरसभामा नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन २०७९, नगर प्रहरी ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ पेश गर्ने कार्यसूची रहेको रिजालले बताए । सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीसहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनुपर्ने प्रावधानअनुरुप सदस्यलाई जानकारी गराइएको रिजालले बताए ।