भरतपुर । भारतको अयोध्याका लागि पठाउन लागिएको म्याग्दीको कालीगण्डकी बजारबाट ल्याइएको देवशिलालाई चितवनमा पुजा गरिएको छ । दुई वटा लरिमा १२ गते म्याग्दीबाट ल्याइएको २६ टन, १४ टन शिलालाई देवघाटको वागेश्वरी क्षेत्र र नारायणी नदी किनारमा भक्तजनहरुले पुजा गरेका हुन् । शुक्रबार राती आइपुगेको देवशिला रातभर वागेश्वरी क्षेत्रमा राखिको थियो । विहान नारायणी नदी किनारहुदै हेटौडातर्फ प्रस्थान गरेको छ ।
कालीगण्डकी सभ्यता अभियान्ता डा. कुलराज चालिसेले नेपाल–भारतको सम्बन्ध मजबुत बनाउन देवशिलाले सघाउने बताए । उनका अनुसार जानकी मन्दिरमा देवशिला हस्तान्तरण गरेपछि त्यहाँबाट फेरी गोरखपुरहुदै अयोध्या लगिने बताए । ७ फिट लामो, ५ फिट चौडाईका ती देवशिलालाई कुँदेर भगवान रामको बाल्यकालको स्वरुप बनाइने बताए । भारतको राम मन्दिर निर्माण समितिका सदस्य तथा विश्व हिन्दु परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पंकजले देवशिला अयोध्या पठाउन नेपालका सबै दलका शिर्ष नेतृत्वले सहयोग गरेको बताए ।
धार्मिका आस्थाको धरोहर अयोध्याधाममा नेपालकै देवशिलाबाट बनेका रामललाले नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर बनाउन सघाउने बताए । उनले अयोध्याधाम भारतमै रहेकाले अयोध्याधामका विषयमा कुनै विवाद नरहेको जीकिर गरे । देवशिलालाई भक्तजनहरुले स्वस्तीवाचन, पुजन तथा भजन किर्तन सहित भव्य स्वागत गरेका थिए । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय बागेश्वरीका निर्देशक डा. हेमराज कोइरालाले कालीगण्डकीबाट देवशिलाहरु उत्खनन् गरि विश्वभर बन्ने मूर्तिका लागि निर्यात गर्न सके देशको अर्थतन्त्र सुधार हुने बताए ।
उनले नेपाल देवभूमि रहेकाले धर्मप्रति सकारात्मक भएर लगानी गर्नुपर्नेमा जोड दिए । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले नेपालको देवशिला भारतको अयोध्यामा राखिनु नेपालीका लागि गौरवको विषय भएको बताए । भारतको अयोध्यामा मूर्ति बनेपछि सो मूर्तिमा नेपालको कालीगण्डकीबाट ल्याइएको शिला भनेर लेख्ने सहमति समेत भएको छ ।
भूगर्भविदको टोलीले विभिन्न परीक्षण गरेर हजारौँ वर्ष टिक्ने बलियो ढुंगा छनौट गरेको थियो । नेपालले कालीगण्डकीको ढुंगासहित जनकपुरबाट अष्ट धातुले बनेको धनुष पनि पठाउने तयारी गरिएको छ ।