चितवन । शान्तिको किचन चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा हाईलाईट युथ क्लबलाई १-० ले पाखा लगाउदै शान्तिको किचनले सेमिफाइनलमा स्थान बनाएको हो । उसको जितमा कर्मा शेर्पाले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा कर्माले गोल गरे । उक्त गोल नै शान्तिको किचनलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो । निर्णायक गोल गरेका कर्मा नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा शनिबार भरतपुर ८ गौरीगन्ज र कठार एफसी भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।
Advertisement