काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको फैसला आजै आउने सम्भावना बढेको छ । बहस सुनेका न्यायाधिसहरु यतिबेला छलफलमा छन् । सर्वोच्च अदालत स्रोतले रविको फैसला आजै आउने सम्भावना उच्च रहेको जनाएको छ । लामिछानेको नागरिकता विवाद २०७५ सालदेखिनै उब्जिएको थियो । टेलिभिजन कार्यक्रममा चर्चित बनेपछि उनको नागरिकता विदेशी थियो भन्ने बहस चलेका थिए ।
अमेरिकाबाट नेपाल आएर सञ्चारकर्ममा जुटेका लामिछाने एकाएक सेलिब्रेटी बनेका थिए । अमेरिकाको नागरिकता त्याग गरेर फेरी नेपाली नागरिकता लिने प्रक्रियामै नगएकाले उनीसँग नेपाली नागरिकतानै नभएको बहस चुलिएको थियो । मंसिर ४ को चुनावमा उम्मेदवार बनेपछि उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए । अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको आरोप गृहमन्त्रीमाथि छ ।