भरतपुर । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले भगिनी संस्थाका रुपमा “सिएमसी क्यान्सर इन्स्टिच्यूट” सञ्चालनमा ल्याउने भएको छ । भोलि १२ गते औपचारिक उद्घाटन हुने जनाइएको छ । उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आउनेछन् ।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यान लगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताए । सरकारी क्यान्सर अस्पतालहरुमा लिइने शुल्कमा नै उपचार हुने बताए । उनले पालो कुर्न नपर्ने बताए । क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवि विशेषज्ञ चिकित्सकले उपचार गर्ने बताए ।
कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमम क्यान्सरको उपचार हुने बताए । सरकारले क्यान्सर उपचारका लागि दिने एक लाख, बागमती प्रदेश सरकारले उपलब्ध गराउने पचास हजार बराबरको उपचार सुविधा निःशुल्क पाउने जानकारी दिए । इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिष्ट डा. सुवास ठाकुरले रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार भईरहेको जानकारी दिए । उनका अनुसार क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सञ्चालनमा रहेका छन् ।