काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् । अधिवक्ताहरु वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् । बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।
लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यादय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।
लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस नगरेको, अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता त्याग गर्नका लागि निवेदन नदिएको र उताको नागरिकता प्राप्त गरेको कुरा गोप्य राखेको तथा अमेरिकाको नागरिकता त्याग गरेको भने पनि त्यसको निस्सा नबुझाएको कारण उनको नेपाली नागरिकता कायम नरहेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
अधिवक्ता रविराज बसौला र नागरिकका रूपमा युवराज पौडेल लगायतले दायर गरेको रिटमा नेपाल नागरिकता ऐन, २०६३ को नागरिकता त्याग र प्राप्तिका विषयमा प्रश्न उठाइएको छ ।रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलेन नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताए । रविको हकमा अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको भन्दै उनले अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने उनको तर्क छ । बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसेको छ ।