भरतपुर । चितवनको माडीमा फेरी धु्रवे नामको हात्तीले वितण्डा मच्चाउन थालेको छ । मंगलबार राती माडी नगरपालिका–१ पाण्डवनगरमा ध्रुवेले दुईवटा घर भत्काएको छ । राती ११ बजेतिर वस्ती प्रवेश गरेको ध्रुवे हात्तीले नेत्रबहादुर परियारको भान्छा घर पूर्णरुपमा भत्काएको छ ।
Advertisement
यस्तै भुवन विश्वकर्माको घरको छानो भत्काइदिएको छ । पाण्डवनगर टोल विकास समितिका अध्यक्ष कृष्णबहादुर पोखरेलले हात्ती आएको थाहा पाएलगत्तै स्थानीय भागेर ज्यान जोगाएको बताए । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको पाण्डवनगर, बनकट्टा लगायतका क्षेत्रमा हात्तीले बेलाबखत क्षती पु¥याउँदै आएको छ ।
ध्रुवे हात्तीको आक्रमणमा परि हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् । ध्रुवेले ०६६ सालमा १ जना, ०६७ मा ३ जना, ०६८ मा १ जना र ०६९ मा १० गरी १५ जनाको ज्यान लिएको थियो । मृत्यु भएकामध्ये ६ जना माडीका थिए ।