भरतपुर । नेपाल विद्यार्थी संघ चितवनभित्र विवाद चुलिएको छ । अध्यक्षमा दाबी गरेका विद्यार्थी नेताहरुलाई पाखा लगाउने प्रयास भएको भन्दै पार्टी कार्यालय चितवनमै विद्यार्थी समूहले तालाबन्दी गरिदिएको छ । नेविसंघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारी सहितका ६० जना बढी विद्यार्थीले हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै तालाबन्दी गरिदिएका थिए । सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र प्रवक्ताका ४ वटा कोठामा शुक्रबार लगाइएको ताला अझै खुलेको छैन ।
विद्यार्थी नेता प्रकाश भण्डारीले पार्टी सभापति एकपक्षीय निर्णय गर्दै नाम सिफारिस गरेकाले आन्दोलित हुनुपरेको बताए । नेविसंघ केन्द्रीय कार्यसमितिले असोज २७ गते पत्र पठाउँदै संघभित्र भएका नेताहरुको उमेर हद र रिक्त पदमा अधिकतम् ३ जनाको नाम सिफारिस गर्न अनुरोध गरेको थियो ।
पत्र आएको ३ महिनापछि बल्ल कांग्रेस चितवनले नेविसंघ चितवनका आकाँक्षीहरुको नाम संकलन थालेको थियो । सुरुमा पार्टीका उपसभापति राजीव न्यौपानेको संयोकत्वमा गठित ३ सदस्यीय समितिले विद्यार्थी नेताहरुबाट नाम संकलन गर्न लागेको थियो । पछि जिल्ला सभापति राजेश्वर खनालकै संयोकत्वमा पदाधिकारीहरु र सभापति पदका निकटत्म प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठ सहितको समितिले नाम सिफारिस गर्ने गरी कार्यदल बन्यो । स्रोतका अनुसार जिल्ला सभापतिले सर्वसम्मत नाम सिफारिस गर्न हरेक पदाधिकारीसँग ‘वान टु वान’ छलफल गरे । तर, आकांक्षी मिलाउनै हम्मेहम्मे प¥यो । खनाल जिल्ला सभापतिको उम्मेदवार बन्दा सचिवालयमै रहेर काम गरेर नेविसंघ सप्तगण्डकी क्याम्पस इकाई सभापति तथा विद्यार्थी नेता राजेश भुषाललाई नेविसंघ चितवनको सभापतिमा नाम सिफारिस गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
भण्डारी भन्छन्, “पार्टीका पदाधिकारीबीच छलफलनै नगरि एकलौटी नाम सिफारिस भएको छ, बेथीति रोक्न मैदानमा आएका हौँ ।” विद्यार्थी नेता भुषालले भने प्रतिक्रिया दिन मानेनन् । “कसको नाम कसरी सिफारिस भयो त्योबारे मलाई थाहा छैन”, उनले भने, “कांग्रेस चितवनले गरेको सिफारिसबारे मलाई सूचना छैन, तर जे हुन्छ राम्रैका लागि हुनेछ ।”
२०७० असार १४ गते जिल्ला अधिवेशन गराउने गरि नेविसंघ चितवनको अध्यक्ष बनेका सूर्य ढकाल पार्टीको जिल्ला सचिवको उम्मेदवार बनेपछि उनले उपाध्यक्ष राजन दाहाललाई कार्यवाहक अध्यक्ष दिएका थिए । त्यसपछि उनी नेविसंघबाट बाहिरिए । तर, उनी पार्टीको जिल्ला सचिवमा पनि जित्न सकेनन् । नेविसंघ चितवनका निवर्तमान सभापति सूर्य ढकालले नाम सिफारिसमा व्यापक छलफल हुनुपर्ने बताउँछन् ।
“म अध्यक्ष नियुक्तहुँदा २५ सदस्यीय कार्यसमितिलाई सबै पक्षलाई समेटेर ७१ सदस्यीय बनाएको थिएँ”, उनी भन्छन्, “विद्यार्थीहरु कहिल्यै पार्टी कार्यालयमा ताला लगाउन आएनन्, विवादहरु थिएनन् ।” मिलेको विवाद फेरी चुलिएकोमा उनी चिन्तित छन् । “चैतमा स्ववियु चुनाव हुदैछ, यता हामी विवादमा उत्रिएका छौँ”, उनले भने, “मिलेरै नेविसंघ अगाडी गएको भए चितवनका १३ कलेजमध्ये ९ वटामा जित्न सजिलो हुन्थ्यो, तर त्यो ख्याल पार्टी नेतृत्वले गरेन ।” उनले पुरानै नेतृत्वलाई स्ववियु चुनाव गराउने जिम्मा दिएर लगत्तै जिल्ला अधिवेशन गराउनुनै विवाद समाधानको उचित विकल्प हुनेतर्क गर्छन् । “जिल्ला अधिवेशन गराउने जिम्मा लिएर म आउँदा मलाई धेरै असहयोग भए, विरोध भए”, उनी भन्छन्, “अहिले फेरी त्यही विवाद ल्याउन एक्लो व्यक्तिलाई सिफारिस गर्नुहुदैन ।”
जिल्ला सचिव जित्ने लक्ष्य सहित कार्यवाहक दिएर आँफु चुनावी मैदानमा गएपनि हारेपछि फेरी फर्केर नेविसंघको अध्यक्ष दाबी नगरेको बताउँछन् । कांग्रेसका निवर्तमान जिल्ला उपसभापति कैलाश कोइराला चितवनमा कांग्रेसनै हराएको व्यंग्य गर्छन् । “चितवनका कांग्रेस कहाँ छ ? नेविसंघको सभापतिमा सिफारिस गर्न हानाथाप गनैपर्ने स्थितिनै छैन”, उनी भन्छन्, “पार्टी सभापतिलाईनै नेविसंघको सभापति बनाइदिए हुन्छ ।”
नेविसंघ चितवनको विवाद करिब ८ वर्ष पहिलेदेखि कायमै थियो । नेविसंघको जिल्ला अधिवेशन गराउने गरी त्यो बेला केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले अरुणेश्वर खनाललाई सभापति बनाएका थिए । नेविसंघ सभापति रञ्जित कर्णले सूर्य ढकालनै सभापति भनेपछि त्यो बेला पार्टी जिल्ला समितिले समेत ढकालकै नेतृत्वलाई वैधानिकता दिएपछि विवाद समाधान भएको थियो । त्यो बेला कांग्रेस चितवनको सभापतिमा जीतनारायण श्रेष्ठ थिए ।
अहिलेका बागमती प्रदेश सांसद तथा तत्कालिन कांग्रेस जिल्ला सचिव उत्तम जोशीको कार्यकालपछि नै नेविसंघ चितवनमा विवाद देखिन थालेको हो । कांग्रेस चितवनका सचिव धु्रर्वराज पोखरेलले सोमबार बस्ने कार्यसमिति बैठकमा विद्यार्थी नेताहरुको गुनासो सुनवाई हुने बताए । “तालाबन्दी भएको छ, विद्यार्थी नेताहरुले टिकाटिप्पणी गरिरहेका छन्”, उनले भने, “हामी गहन छलफल गरेर निचोडमा पुग्नेछौँ ।” नेविसंघ चितवनको अधिवेशन गराउने गरी सभापतिको नाम सिफारिसमा भएका त्रुटि या प्रयासबारे छलफल हुने उनको भनाई छ । नेविसंघ चितवनको सभापतिमा प्रकाश भण्डारी, दिनेश तामाङ, राजेश भुषाल, गणेश रिजाल, अमृत मिश्र, अनिश पन्त, रविन क्षेत्री लगायतले दाबी गर्दै आइरहेका छन् ।