भरतपुर । संघीय–प्रदेश सरकारमा बनेका गठबन्धन विपरित चितवनको माडीमा फरक गठबन्धनबाट रेडक्रसको नेतृत्व चयन भएको छ । नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको नेतृत्व चयनका लागि माओवादी केन्द्र एकातर्फ र अर्कोतर्फ कांग्रेस, एमाले, राप्रपा मिलेर चुनावमा उम्मेदवारी दिएका थिए ।
सभापतिमा कांग्रेस निकट हेमलाल ढकाल निर्वाचित भएका छन् । उनले १ सय २४ मत पाएका छन् । उनी पूर्व निवृत्त प्रहरी नायव निरीक्षक हुन् । माओवादीका तर्फबाट सभापति उम्मेदवार रहेकी विन्दु महतोले ९५ मत ल्याएकी छन् । उपशाखा गर्दीको नेतृत्वमा कांग्रेसका तर्फबाट सभापति, उपकोषाध्यक्ष र २ जना सदस्य निर्वाचित भएका छन् । एमालेबाट सचिव र १ जना सदस्य निर्वाचित भएका छन् । राप्रपाबाट उपसभापति र २ जना सदस्य निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट कोषाध्यक्ष र सहसचिव निर्वाचित भएका छन् । ११ सदस्यीय कार्यसमितिमा २ जनामात्रै माओवादी केन्द्र निकटका परेका छन् । उपसभापतिमा पार्वती लामिछाने, सचिवमा सिता तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मी पाठक, सहसचिवमा भोलानाथ पौडेल, उपकोषाध्यक्षमा श्याम पराजुली निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कोपिला पराजुली, रामलाल महतो, विष्णुकमार महतो, विक्रमप्रसाद महतो, सुरेश अधिकारी निर्वाचित भएका छन् ।
३ सय ६ जना मतदाता रहेकोमा २ सय २२ मत खसेको थियो । यसअघि गर्दी उपशाखाको सभापति माओवादी निकट हिराबहादुर थापा केशव रहेका थिए । चितवनका ४१ वटा रेडक्रसका उपशाखाहरुमध्ये ४० वटामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । माडीको गर्दीमा मात्रै निर्वाचनका माध्यमबाट नेतृत्व छनौट भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।