भरतपुर । वागमती प्रदेश सरकारको मन्त्रीमण्डल माघ १० पछिमात्रै विस्तार हुने भएको छ । मन्त्रालय घटाउने गरेकाले सरकार विस्तारमा ढिलाई भएको हो । पुस २६ गते ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कट्टेलले मन्त्रालय घटाउन बनाइएको कार्यदलले प्रतिवेदन बुझाएपछिमात्रै सरकार विस्तार गर्ने सोचमा छन् ।
शपथ लिएकै दिन मुख्यमन्त्रीले पुस २६ गते मन्त्रालय घटाउन कार्र्यदल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । ५ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कार्यदलले माघ ९ सम्म प्रतिवेदन आइपुग्ने बताए ।
उनका अनुसार माघ १० पछि प्रदेश सरकार विस्तार हुनेछ । उनले १४ वटा मन्त्रालयलाई घटाएर ९ देखि ११ वटासम्म मन्त्रालय बनाउने तयारी रहेको बताए । कुन मन्त्रालय कसरी मर्ज गर्ने भन्नेबारे कार्यदलले सुझाव दिने बताए । एमालेले कम्तिमा ५ मन्त्रालयको दाबी गरेको छ । माओवादीले ४, राप्रपाले ३, एकीकृत समाजवादीले २ , हाम्रो नेपाली पार्टीले १ मन्त्रालय पाउनुपर्ने अडान लिएका छन् । दलहरुको माग धेरै रहेकाले दलहरुबीच मन्त्रालय भागबण्डामा समझदारी जुटाउन सकस भैरहेको छ ।