काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्या समधान गर्न निर्देशन दिएको छ । मन्त्रालयले बक्सअफिस शाखालाई सो निर्देशन दिएको हो ।
बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न भनेको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएको गुनासा आएका थिए । जाँचपासमा ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता सहित अग्रिम बुकिङका लागि मुभी कोड उपलब्ध गराउन निर्देशन दिएको छ ।
मुभी कोड लिएर अब हल सञ्चालकले सेन्सर अगावै बुकिङ खुल्ला गर्न पाउनेछन् ।
नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले सेन्सर ढिला हुँदा बुकिङ खोल्न भएको समस्या समाधान गर्न सुनवाई भएको बताए । गत ११ पुसमा बसेको बोर्डको बैठकले चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने निर्णय गरेको थियो । चलचित्र संघले भने आफ्ना मागसहित राष्ट्रिय भेला गर्दै आन्दोलनको घोषणा गरेको थियो ।